तपाईँ सुन्दै हुनुहुन्छः

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन

काठमाडौँ । नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ । आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाली दूतावास तथा नेपाल–चीन मिडिया मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा ८० भन्दा बढी चिनियाँ प्राज्ञहरूको उपस्थिति थियो । चीनका विभिन्न विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययन/अनुसन्धान गरिरहेका ती चिनियाँ प्राज्ञहरूले दुई देशबीचको मैत्री सम्बन्धमा यो पुस्तक एउटा कोशेढुङ्गाका रूपमा स्थापित हुने उल्लेख गरेका छन्  ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले यस प्रकारको पुस्तक विमोचन गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र चीनबिचका ७० वर्षका महत्त्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरेकामा मञ्चसहित मञ्चका अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिँदै हार्दिक आभार प्रकट गर्नुभयो । पुस्तकले वर्तमान र भावी पुस्तालाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनापछिका महत्त्वपूर्ण खुड्किलाहरू राखेर इतिहासलाई जीवन्त राखेको उहाँले बताउनुभयो ।

पुस्तकमाथि धारणा राख्दै कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालबिचमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी र आधिकारिक स्रोत हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले पुस्तक दुवै देशका पाठकलाई सहज भएको उहाँको भनाइ छ ।

सियामन विश्वविद्यालयका प्राध्यापक चियाङ सियाओसियानले महत्त्वपूर्ण क्षणमा पुस्तक प्रकाशन भएको बताउँदै चीन र नेपालबिचका विभिन्न घुम्तीहरूलाई पुस्तकले समेटेको उल्लेख गर्नुभयो । यो पुस्तक अध्येताका लागि सङ्कलनयोग्य रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रमका वक्ता युन्नान अन्तर्राष्ट्रिय अर्थ, व्यापार तथा सांस्कृतिक सहकार्यका उपमहासचिव रन चिकाङले पुस्तक विमोचन समारोहमा उपस्थित भएर बोल्न पाउँदा खुशी लागेको भन्दै ७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गर्नु निकै कठिन कार्य भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल–चीन मिडिया मञ्चका अध्यक्ष श्रेष्ठले नेपालमा पुस्तक प्रकाशन गरी चीनमा आएर विमोचन गर्न पाउनु गर्वको विषय भएको धारणा राख्नुभयो । उहाँले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित यो पुस्तकको हाम्रा लागि सफलताको विषय भएको बताउनुभयो । चीनका टाढाका प्रान्तबाट पनि कार्यक्रममा उपस्थित भएर सफल बनाउन सहयोग गर्नुहुने चिनियाँ विज्ञप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

कार्यक्रमको अन्तमा प्रश्नोत्तरसहित छलफल भएको थियो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित यस पुस्तकमा दुई देशबीचका भएका सन्धि सम्झौतासँगै विविध आयामलाई समेटिएको छ । 

नेपालको पूर्वाधार विकासमा चीनले गरेको सहयोग, नेपाल राष्ट्र बैङ्क स्थापनामा चीनले दिएको अनुदान लगायत विषयमा छलफल भएको थियो । विगत ७० वर्षमा चीनले नेपालमा लगानी गरेको तथ्य समेट्दै नेपालको भौतिक पूर्वाधार विकासमा चीनको योगदानको समालोचना पनि यस पुस्तकमा गरिएको छ । 

आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले नेपालका दुई हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा रु दुई खर्ब २४ अर्बभन्दा बढी लगानी गरेका पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button