तपाईँ सुन्दै हुनुहुन्छः

६ गतेदेखि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पोखरा । कास्कीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय तिर्थ स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०८२ आयोजना हुने भएको छ । 

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९ बजे सुरु उक्त महोत्सव हुने समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनुभयो । उक्त महायज्ञ महानवमीको दिन मध्यान्ह १२ बजेसम्म निरन्तर सञ्चालन हुने उहाँले जनाउनुभयो ।  

गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाले तयारीमा अवरोध पुर्‍याएकाले यसपटक परम्परागत रुपमा हुँदै आएको नवदुर्गा शोभा यात्रा भने स्थगित गरिएको समितिले स्पष्ट पारेको छ । 

समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्री सतचण्डी महाअनुष्ठान सञ्चालन हुनेछ भने अपराह्न २ बजेदेखि ४ बजेसम्म भजन–कीर्तन हुनेछ । विजया दशमी अवधिभर मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा सुरु हुनेछ । दर्शनका लागि मन्दिर बिहान ५ बजेदेखि भक्तजनका लागि खुला गरिनेछ र प्रत्येक साँझ ६ बजे आरती हुनेछ ।

२०५१ सालमा स्थापना गरिएको विन्ध्यवासिनी गुरुकुल विद्याश्रम मार्फत हाल कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क आवासीय शिक्षा दिइँदै आएको छ । यसलाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुसार पोखरा महानगरपालिका–१८ स्थित गुठी स्वामित्वको २६ रोपनी जग्गामा नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button