कर्णालीमा ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल
काँक्रेविहार,सुर्खेत । कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिनुभयो ।
सहुलियतमा बिक्रीवितरण हुने चामल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर रु सात छुट दिइएको छ । हाल १८ स्थानबाट सोमबारदेखि नै सहुलियत रुपमा खाद्यान्न बिक्री वितरणको काम सुरु गरिएको छ । सोमबार डोल्पामा सदरमुकाम दुनै, जुफाल मुड्केचुलाको सर्मी, कालीकोट सदरमुकाम मान्मा, पादमघाट, खल्लागाड, जाजरकोटको सदरमुकाम, नायकवाडा, घोगीमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।
त्यस्तै मुगुको सदरमुकाम गमगढी, श्रीकोट र सोरुकोटमा आजैदेखि सञ्चालनमा आएको छ । रुकुमपश्चिमको सदरमुकाम मुसीकोट, हुम्लाको श्रीनगर, सर्केगाडमा सुरु भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा, दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाममा बिक्रीको काम सुरु भएको छ । अठार डिपो तथा शाखाका साथै २४ वटा स्थानीय तहमा बिक्रीको काम सुरु भएको जनाइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल चामल १२ हजार क्विन्टल, चिनी १२४ क्विन्टल, २६ हजार लिटर तेल मौज्दात रहेको छ । हाल अरुवा मोटा चामल, अरुवा मोटा एफ आर, अरुवा सोना मन्सुली, अरुवा मन्सुली एफ आर , स्टीम जिरा मसिनो , स्टीम जिरा मसिनो एफ आर, सूर्यमुखी तेल, सोयाविन तेल, तोरी तेल र चिनी बिक्री भइरहेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्