उपचार अभावमा चार सुत्केरीले ज्यान गुमाए
मुगु । मुगुमा उपचार अभाव पछिल्ला तीन वर्षमा चार सुत्केरी महिलाले अकालमै ज्यान गुमाएका छन्।
जिल्ला अस्पताल मुगुको तथ्यांकअनुसार आर्थिक वर्ष ०८० मा एक, ०८१ मा एक र ०८२ मा दुई गरी कुल चार सुत्केरीको मृत्यु भएको छ। त्यस्तै, उक्त अवधिमा जिल्लाका विभिन्न पालिकाबाट १,३६९ जना महिला गर्भवती भएको तथ्याङ्कमा उल्लेख छ।
जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा। निर्मल नगरकोटीका अनुसार गर्भवती महिलाले समयमै उपचार नपाउने, पोषणयुक्त खानेकुरा अभाव हुने र कडा श्रम गर्नुपर्ने बाध्यताले उनीहरूको मृत्यु दर उच्च देखिएको हो। “नेपालको औसत आयु ६९.२ वर्ष भए पनि मुगुका बासिन्दाको औसत आयु ४७ वर्ष मात्र छ। त्यसमध्ये १४ प्रतिशत जनसङ्ख्या ४० वर्ष नपुग्दै ज्यान गुमाउने तथ्याङ्क छ,” डा. नगरकोटीले बताउनुभयो । उहाँका अनुसार गरिबी र स्वास्थ्य सेवामा पहुँच नहुनु जिल्लावासीको प्रमुख समस्या हो।

गत भदौ महिनाको दोस्रो साता सोरु गाउँपालिका–८ रुम गाउँकी ३४ वर्षीया सुनिता बुढाको पनि बाटोमै मृत्यु भएको थियो। जिल्ला अस्पताल मुगुका नर्सिङ शाखा प्रमुख यमुना लामिछानेका अनुसार टाढा भएको कारण अत्यधिक रक्तस्राव सहन नसकी सुनिताले ज्यान गुमाउनुपर्यो । तर उनको गर्भबाट जन्मिएको बच्चा भने बचाउन सफल भएको बताउनुभयो ।
सुनिताका बुवा प्रकाशले घर नजिक स्वास्थ्य चौकी नहुँदा बाध्य भएर छोरीलाई एम्बुलेन्समार्फत सदरमुकामसम्म ल्याउनुपरेको तर छोरीलाई बचाउन नसकेको पीडा सुनाउनुभयो। “सरकारले दुर्गमका सुत्केरीलाई उद्धारका लागि हेलिकोप्टर चार्टरको व्यवस्था गरेको सुनिन्छ। तर हाम्रो जस्तो गरिब परिवारलाई भने कसैले वास्ता नगरेको महसुस भयो,” उहाँले दुखेसो पोख्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्