तपाईँ सुन्दै हुनुहुन्छः

तोडफोड र आगजनी गर्नेलाई पक्राउ गर्न चौतर्फी दबाब

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीमा जेनजी आन्दोलनको मौका छोपेर भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन चौतर्फी दबाब बढेको छ ।

जिल्लामा रहेका जनप्रतिनिधिहरूले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् । जेनजी आन्दोलनको नाममा घुसपैठ भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब बढेको हो ।

विशेषगरी निजी सम्पत्ति तोडफोड भएका जनप्रतिनिधिहरूले कुनै पनि हालतमा जेनजीको नाममा विध्वंस मच्चाउनेहरूलाई तत्कालै कारवाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको भागिदार सुरक्षा निकाय आफै हुनु पर्ने उनीहरूको चेतावनी छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूबिच भएको छलफलमा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति छानिछानी तोडफोड र आगजनी गर्नेहरूलाई निष्पक्ष छानविन गरि कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

बिहान देखि राति सम्म एउटै समूहले तोडफोड र आगजनी गरिरहँदा समेत प्रशासन मुखदर्शक बनेको भन्दै  सुरक्षा प्रणाली फितलो भएको भन्दै चर्को आलोचना गरेका छन् ।

सुरक्षा निकायले भने उक्त दिन केही त्रुटि भएको स्वीकार गर्दे जनशक्तिको अभाव लगायतका कारण पनि समस्या भएको तर्क गरेका छन् । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले  फुटेजका आधारमा सोधपुछ गर्ने क्रम चलिरहेको र अनुसन्धानकै क्रममा रहेको जानकारी दिनु भयो ।

‘अहिले केही फुटेज,भिडियो लिङ्कका आधारमा सोधपुछ गरिरहेका छौ, कसैलाई पक्राउ गरिएको छैन,अनुसन्धानमै छौ’ डिएसपी पन्तले भन्नू भयो ।

उनीहरू वास्तविक रुपमा आगजनी र तोडफोडमा संलग्न थिए वा थिएनन् भन्ने एकिन भइरहेको प्रहरीले जनाएको छ । आगजनी र तोडफोडले आफूहरू घरबार विहीन बन्नु परेको जिल्लाका जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । तोडफोड र आगजनी सँगै धनमाल समेत चोरी भएको उनीहरूले बताएका छन् ।

यता बर्दघाट नगरपालिकाले घटनामा केही जनप्रतिनिधि र कर्मचारी नै संलग्न रहेको भन्दै अनुसन्धान गरि कारबाही सुरु गरिने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button