नियमित हवाई सेवा नहुँदा मुगुका यात्रु तथा विरामी मर्कामा

मुगु। हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा मुगु जिल्लामा आउजाउ गर्ने कर्मचारी, विद्यार्थी तथा बिरामीहरूलाई ठुलो कठिनाइ भएको छ।
करिब ४ महिना देखि नेपाल एयरलाइन्सको ताल्चा–नेपालगञ्ज मार्गमा हुने उडान बन्द छ भने निजी वायुसेवा कम्पनी समिट, तारा र सिताले पनि विगतमा नियमित उडान गरे पनि हाल मौसमको कारण देखाउँदै फाटफुट रूपमा मात्र सेवा दिइरहेका छन्। नियमित उडान नहुँदा यात्रुहरू दिनहुँ सास्ती खेपिरहेका छन्।
सडक यातायात सहज नभएकाले मुगुवासीहरू मुख्यतया वायुसेवामै भर पर्न बाध्य हुन्छन्। तर लामो समयदेखि विमान सेवा स्थिर नहुँदा कार्यालयमा कार्यरत कर्मचारी, पढाइका लागि जिल्ला बाहिर जानुपर्ने विद्यार्थी र आकस्मिक बिरामी विशेष रूपमा मर्कामा परेका छन्।

गमगढीका एक शिक्षकले भन्नुभयाे, “बिदा सुरु हुनै लाग्दा दसैँका लागि घर फर्कन चाहन्थ्यौँ तर नियमित उडान नभएर अन्योलमा छौँ।”
त्यस्तै, स्थानीय बासिन्दाले आकस्मिक स्वास्थ्य उपचारका लागि नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने अवस्था आउँदा अझै ठुलो समस्या भएको बताउनुभएको छ। बिरामी लैजान गाडीमा लामो समय लाग्ने भएकाले जीवनै जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण रारा विमानस्थल ताल्चका प्रमुख रामेल बरियाका अनुसार “निजी स्तरका एयरलाइन्सहरूले दैनिक उडान गर्ने मनसाय भए पनि पटक, पटकको मौसम बदलीका कारण नियमित उडान हुन नसकेको हो।”

नेपाल एयरलाइन्स रारा ताल्चका स्टेसन इन्चार्ज नवीन कुमार बिष्टका अनुसार यात्रुहरूको मागलाई ध्यानमा राखेर मुगुका लागि आगामी सोमबारदेखि उडान सुचारु गर्ने तयारी भइरहेको बताउनु भएको छ। उहाँका अनुसार हाललाई ५ ओटा टिकट अनलाइन गरिएको छ भने केही समय पछि १० वटा टिकट अनलाइन गरिने जनाइएको छ । तर यात्रुहरूले दसैँ जस्तो चाडपर्वलाई ध्यानमा राख्दै तत्काल नियमित उडान सञ्चालन गर्न माग गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्