नारायणगढ– मुग्लिन सडकमा रातको समयमा यात्रा नगर्न सुझाव

चितवन । सडक डिभिजन भरतपुरले केही दिनयता निरन्तर वर्षा भएको र पटक पटक नारायणगढ मुग्लिन सडकमा गएको पहिरोको कारण रातीको समयमा यात्रा नगर्न सुझाव दिएको छ ।
दसैँमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सडक डिभिजन भरतपुरले सकभर रातको समयमा यात्रा नगर्न अनुरोध गरेको हो ।
कार्यालयका अनुसार सडकमा पहिरो रोकथामको काम तत्काल नहुने भएको छ । नारायणगढ–मुग्लिन सडकको तुइन खोलानजिक पहिरोको उच्च जोखिम छ । यसबाहेक, एक दर्जनभन्दा बढी स्थानमा पनि पहिरोको जोखिम रहेको छ ।
सडक विस्तार गरिएपछि तुइन खोलाको पहाडी भूगोल कमजोर बनेको छ । यहाँको करिब ३० मिटर लम्बाइ र करिब १५० मिटर उचाइको पहाड कमजोर भएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी अर्जुन घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार तुइन खोलालगायत जोखिमयुक्त स्थानमा पहिरोको रोकथाम गर्ने कार्य गरिँदै छ । तुइन खोला, नाम्सी खोला र काली खोलालगायतका स्थानमा पहिरो रोकथामका लागि आगामी मङ्सिरमा ठेक्का आह्वान हुने उहाँले जानकारी दिनुभयो ।
विभागबाट छिटो रोकथामको काम गर्ने निर्णय भएर आएमा आकस्मिक खरिद प्रक्रियाबाट पनि गर्न सकिने उहाँले बताउनुभयो । हाललाई पहिरो खसिहालेमा पन्छाउनका लागि मेसिनहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
“यो बर्खाको बेला सकेसम्म रातिको समयमा कसैले पनि यात्रा नगर्दा ठिक हुन्छ । राति पहिरो खसेको देखिँदैन र पन्छाउन पनि कठिन हुन्छ”, उहाँले भन्नुभयो, “यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्नु उत्तम हुन्छ ।”, बर्खाको बेला खसेको पहिरो पन्छाउन बाहेक अरू उपाय नरहेको उहाँले बताउनुभयो ।
सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पानी परिरहे यसपालिको दसैँको यात्रा जोखिमपूर्ण हुने बताउनुभयो । “यो बाटो पानी पर्ने बित्तिकै जोखिमपूर्ण हुने भयो, मङ्गलवार त एक जना यात्रुको मृत्यु नै भयो”, उहाँले भन्नुभयो “पहिरो रोकथामको काम गर्न विभागको टोलीले हेरेर गएको छ, यो वर्ष अलि बढी जोखिम भएको ठाउँमा रोकथामको काम हुन्छ ।”
प्रतिक्रिया राख्नुहोस्