तपाईँ सुन्दै हुनुहुन्छः

नेतृत्व तहमा भएका कमीकमजोरी सच्याउनु आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले, मुलुकलाई सकारात्मक बाटोमा अघि बढाउनु आवश्यक रहेको बताउनुभएको छ । 

नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयको झण्डात्तोलन  कार्यक्रममा मुख्यमन्त्री कार्कीले भदौ–२४ गतेको आन्दोलनमा विभिन्न स्वार्थ समूहले आफ्नो उद्देश्य पुरा गर्न खोजेको बताउनुभयो ।

अहिले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको उल्लेख गर्दै जेनजेडको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाउँदै आएको उहाँले बताउनुभयो  । 

मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको यस्तो अवस्थामा  पार्टी नेतृत्वले आफ्नो कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो । 

मुख्यमन्त्री कार्कीले कार्कीले एमाले सरकारमा रहँदा विकास निर्माणका कामहरू उल्लेखनीय रुपमा भएको बताउनुभयो ।   संविधान मास्ने प्रयासले देशलाई अस्थिरता निम्तने खतरा बढेको बताउँदै उहाँले संविधान जोगाउन सबै पक्ष लाग्नुपर्ने समेत बताउनुभयो । 

महानगर कमिटीका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गिरीले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समय सापेक्ष सच्चिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

भेलामा सहभागीहरूले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै यस्तो अवस्थामा कसैले पनि गल्ती स्वीकार गर्न नखोज्नु  चिन्ताको विषय रहेको बताउनुभयो  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button