तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । 

विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

किंवदन्तीअनुसार भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पूतनाको शव दहन गरेका थिए । द्वापरयुगमा विषाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पूतनालाई भगवान् श्री कृष्णले दूध चुसी मारेको र भगवान् श्री कृष्ण भने बाँचेको खुसीयालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने भट्टको भनाइ छ । 

भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाहरूले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ ।

साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ ‘बूढी पोल्ने’ परम्परा छ । पूतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पूतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । 

यस पर्वमा रातभरि देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोप हुँदै गएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button