एएफसी कप छनोटमा सहभागिता नजनाएका कारण कारबाहीमा एन्फा
काठमाडौँ । एएफसी फुटसल एसियन (एएफसी) कप छनोट प्रतियोगितामा सहभागिता नजनाएका कारण नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी)को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरिवानासहितको कारबाही गरिएको हो ।
एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।
एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कारबाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरिवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन ।
एन्फाले गत वैशाख २२ देखि जेठ ५ सम्म ‘अन्तर विद्यालय फुटसल च्याम्पियनसिप’ आयोजना गरेको थियो । त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाडी र राष्ट्रिय खेलाडीलाई समेट्दै एन्फाले छनोट प्रतियोगिताका लागि तयारी थालेको थियो । प्रारम्भिक छनोटका लागि लागि ४५–५० खेलाडी बोलाइएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण सुरु हुन नपाउँदै बन्द गरेको थियो ।
फुटसल एसियन कप आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म इन्डोनेसियामा हुँदैछ । दुई शहरमा आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्