उदयपुरको चौदण्डीगढी नगरपालिकाको गाडी सिंहदरबारभित्र जलेको पुष्टि

उदयपुर । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा परी उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको एउटा गाडी जलेर नष्ट भएको पुष्टि भएको छ ।
जेनजी आन्दोलनकारीले गत भदौ २४ गते देशभर गरिएको तोडफोड र आगजनीमा परि चौदण्डीगढी नगरपालिकाका मेयर कालुमा लामाले प्रयोग गर्दै आएको स१झा ५३० नम्बर गाडी (स्कार्पियो) सिंहदरबार परिसर भित्र जलेर नष्ट भएको मेयर लामाले बताउनुभयो ।
मेयर लामाले आफू एमालेको विधान महाधिवेशनको भदौ १७ लागि राजविराज हुँदै काठमाडौँसम्म प्लेनमा गएको भए पनि आफू चढ्ने गाडी अर्थ मन्त्रालयले उपलब्ध गराएको अर्को पिकअप ल्याउने भदौ १८ गते अर्को ड्राइभर लिएर काठमाडौँ आएको बताउनुभयो ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको पिकअपको सम्पूर्ण कागजी प्रक्रिया पुरा गरेर पिकअप गाडी पालिका पठाएको र आफू भने सङ्घीय मन्त्रालयमै केही काम भएकोले बसेको सधैँ आफूले प्रयोग गर्ने स्कार्पियो काठमाडौँमा राखेको मेयर लामाले बताउनुभयो ।
मेयर लामाका अनुसार भदौ २४ गते आफू उक्त गाडी लिएर सिंहदरबार पुगेको र सोही समयमा जेनजी आन्दोलनकारीले सिंहदरबार घेराउ गरेको खबर पाएपछि आफूले गाडीलाई सुरक्षित स्थान खोजेर राख्ने प्रयास अनुसार “सामान्य प्रशासन मन्त्रालयको पार्किङमा“ गाडी राखेर बाहिर निक्लेको तर आन्दोलनकारीले उक्त क्षेत्रका सबै गाडी आगो लगाउने क्रममा आफू चढ्ने गरेको गाडी जलेर नष्ट भएको मेयर लामाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्