त्रसित नागरिकलाई आश्वस्त पार्न सुरक्षा प्रमुखलाई मुख्यमन्त्री कँडेलको आग्रह
सुर्खेत । जेन जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षा निकायहरूसँग छलफल गर्नुभएको छ ।

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरि काम गर्न प्रदेश स्थित चारै वटै सुरक्षा निकायलाई आग्रह गर्नुभएको हो ।
उहाँले जेन–जीको उद्देश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नुपरेको र नागरिक अझै पनि भयभीत अवस्थामा रहेकोले जनजीवन सामान्यीकृत हुने गरि आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षा निकायलाई सुझाव दिनुभयो ।
यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो रहेकोले सुरक्षाकर्मीलाई संयमका साथ अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ ।
आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान गर्न र कानुन बमोजिम कारबाही गर्न माथिको आदेश पर्खनु नपर्ने भन्दै उहाँले पूर्वाग्रह नराखेर अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउनु मुख्यमन्त्री आग्रह गर्नुभयो ।
छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर आचार्यसहित प्रदेशस्थित ४ वटै सुरक्षाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्