चितुवाकाे आक्रमणबाट एक जनाको मृत्यु
नेपालगञ्ज । यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्सिया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो ।
गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताउनुभयो । सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उहाँले बताउनुभयो ।
“हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदै छ”, उहाँले भन्नुभयो । मृतक थारुको शव पोस्टमार्टम पश्चात् वडाको सिफारिसमा परिवारलाई रु। १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्