तपाईँ सुन्दै हुनुहुन्छः

पर्व लक्षित सहुलियत मूल्य पसल शुरु

'स्थानीयलाई राहत'

बाजुरा। बाजुरामा दसैँ, तिहार तथा छठ पर्व लक्षित सहुलियत छुट मूल्य पसल सोमबार बाट सञ्चालनमा आए सँगै स्थानीयलाई ठुलो राहत मिलेको छ। खाद्य व्यापार तथा कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी र कोल्टी डिपोबाट एकसाथ छुट मूल्य पसल सुरु भएको हो।

यस योजना अन्तर्गत अरुवा मोटा चामल, स्टीम जीरा मसिनो चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ। साबिकमा प्रतिकेजी ६२ रुपैयाँमा बिक्री हुँदै आएको अरुवा मोटा चामल हाल ५७ रुपैयाँमा, ९० रुपैयाँमा बिक्री हुँदै आएको स्टीम जीरा मसिनो चामल ८५ रुपैयाँमा र १ सय ५ रुपैयाँ पर्ने चिनी हाल १ सय रुपैयाँमै बिक्री वितरण भइरहेको छ।

कार्यालयका अनुसार मार्तडी शाखामा हाल अरुवा मोटा चामल ४हजार ६सय ४० प्वान्ट ५ क्विन्टल, स्टीम जीरा मसिनो चामल २सय ४७ प्वान्ट २५ क्विन्टल र चिनी १५ प्वान्ट ५ क्विन्टल मौज्दात छ। त्यस्तै, कोल्टी डिपोमा अरुवा मोटा चामल ३१सय१३ क्विन्टल र स्टीम जीरा मसिनो चामल ३सय१५ क्विन्टल मौज्दात रहेको छ।

यसबाहेक, सहुलियत मूल्य पसललाई थप सशक्त बनाउन खाद्य व्यापार तथा कम्पनी लिमिटेड केन्द्रीय कार्यालयले बाजुराका लागि ३५ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनीको कोटा स्वीकृत गरेको खाद्य व्यापार तथा कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो।

स्थानीय नागरिकहरूले महँगो बजार मूल्यमा खाद्यान्न किन्नुभन्दा सहुलियत मूल्य पसलबाट गुणस्तरीय चामल र चिनी छुटसहित पाउँदा राहत मिलेको प्रतिक्रिया दिएका छन्।

जिल्लाका अन्य अस्थायी खाद्य बिक्री केन्द्र पाण्डुसैन, बिच्छ्या, धुलाचौर र घट्मुनाबाट समेत सहुलियत मूल्यमा खाद्यान्न वितरण गर्ने योजना अघि बढाइएको कम्पनीले जनाएको छ।

सहुलियत मूल्य पसल कार्तिक ७ गतेसम्म सञ्चालनमा रहनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button