तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

जुम्ला । नेपालीहरूको महान् चाड दशैँ तिहार र छठ पर्व नजिकिन थालेपछि जुम्लामा सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.शाखा कार्यालय जुम्लाले सोमबार देखी सहुलियत मूल्य पसल सञ्चालन गरेको हो । 

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खाद्य व्यवस्था समितिका समेत अध्यक्ष गौरीनद्य आचार्यद्वारा सोमबार सहुलियत मूल्य पसल उद्घाटन गरिएको छ । सहुलियत मूल्य पसलमा चिनी सहित ६ प्रकारका चामल विक्री गरिने छ । 

प्रति केजीमा ५ रुपैयाँ छुट दिएर विक्री गरिने छ । सोमबारदेखि सुरु भएको सहुलियत मूल्य पसल आगामी कार्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.शाखा प्रमुख मनोज जोशीले बताउनुभयो । 

उहाँका अनुसार सहुलियत मूल्य पसलका लागि कूल ११ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनी छुटाइएको छ । जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १४ सय २५, एफआर अरुवा मोटा १४ सय २५, अरुवा मध्यम चामल १५ सय, एफआर अरुवा सोना मन्सुली १५ सय,  स्टिम जिरा मसिनो चामल २१ सय २५ र  एफआर स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपैयाँमा विक्री हुने उल्लेख गरिएको छ । 

सबै चामल २५ किलोको हुने र प्रतिकेजी ५ रुपैयाँ छुट दिएर विक्री हुने शाखा प्रमुख जोशीको भनाई छ । सहुलियत मूल्य पसलबाट उपभोक्ताले प्रति बोरामा एक सय २५ रुपैयाँ छुट पाउने छ । भने चिनी प्रति केजी एक सय रुपैयाँमा विक्री गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button