तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज: तोडफोड र आगजनीमा,टेलिकमलाई मात्र तीन करोड बढीको नोक्सानी

वीरगञ्ज । गत साता वीरगञ्जमा भएको जेनजी समूहद्वारा आयोजित आन्दोलन हिंसात्मक मोड लिँदै घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयमा ठूलो क्षति पु¥याएको छ । अराजक भीडद्वारा गरिएका तोडफोड र आगजनीका कारण टेलिकमलाई करिब तीन करोड रुपैयाँ बराबरको नोक्सानी पुगेको छ ।

नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहका अनुसार प्रदर्शनकारीहरूको पहिलो निशाना टेलिकमकै कार्यालय बनेको थियो । उहाँले भन्नुभयो “अराजक समूहले कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण उपकरणमा तोडफोड गर्नुका साथै आगजनी गर्दा महसुल काउन्टरमा विशेष क्षति पुगेको छ ।”

प्रदर्शनकारीले घण्टाघर क्षेत्रका दुवै टेलिकम कार्यालयमा आगजनी गरेका थिए, जसको प्रत्यक्ष असर सेवासम्प्रेषणमा परेको टेलिकम स्रोतले जनाएको छ ।

यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले आन्दोलनका क्रममा भएको क्षतिको पारदर्शी मूल्याङ्कन गरी मुचुल्का तयार गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो “जेनजी समूहको आन्दोलनका क्रममा सरकारी भवन र सवारीसाधनमा अपूरणीय क्षति पुगेको छ । मुचुल्का तयार गर्दा श्रव्यदृश्य प्रमाणसहित व्यवस्थित र यथार्थपरक बनाउन आग्रह गरिएको छ ।”

वीरगञ्ज महानगरपालिका, आन्तरिक राजस्व कार्यालय लगायतका अन्य सरकारी निकायहरूमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । यतिबेला घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालन गरिएकाले स्थिति नियन्त्रणमा आएको बताइएको छ ।

सरकारी सम्पत्तिमा भएको यस प्रकारको आक्रमणप्रति आम नागरिक र सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका छन् भने दोषी पहिचान गरी कानुनी कारबाहीको माग समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button