सिंहदरबारमा बढ्न थाल्यो कर्मचारीको चहलपहल

काठमाडौँ I भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबार परिषरमा आजदेखि कर्मचारीको चहलपहल बढे पनि भवनहरू पूर्ण रुपमा क्षति भएकाले कर्मचारीहरू बाहिरै बस्न बाध्य छन् ।

आगलागीले ध्वस्त भएका कार्यालयहरूमा यत्रतत्र छरिएर रहेका महत्वपूर्ण कागजातलगायतका सामग्री खोज्दै कर्मचारीहरू नियमित काम अगाडि बढाउने तयारी गरिहरेका छन् ।
आइतबार बिहान ११ बजे सिंहदरवामा परिसरमा रिपोर्टिङका लागि पुग्दा आजै देखी कार्यालय आएका कर्मचारी सिंहदरबारभित्रका कार्यालयहरू नियालिरहेका थिए ।
भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलगायतका सरकारी कार्यालयहरू आगजनी र तोडफोड भएका छन् ।

आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गृहमन्त्रालयका लागि बनेको नयाँ भवनबाट सञ्चालन हुने भएको छ भने गृह मन्त्रालयले आफ्नो सेवा परराष्ट्रमन्त्रालयबाट शुरु गर्नेगरी सामानहरू सार्ने काम गरिरहेको छ ।

मन्त्रालयको प्राङ्गणबाट कार्यालयको अवस्था नियाली रहनु भएका गृहमन्त्रालयका सहसचिव गोविन्द रिजालले कार्यालयको अवस्था देख्दा दुःख लागेको भएपनि कार्यालयको कामकाज शुरु गर्नुको विकल्प नरहेको भन्दै बाँकी रहेका कागजात र महत्वपूर्ण डकुमेन्टहरू समेट्ने काम भइरहेको र गृह मन्त्रालयकै भवनबाट काम गर्ने अवस्था नरहेकाले परराष्ट्र मन्त्रालयको भवनबाट काम अगाडी बढाउन सामान सार्न लागिएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ “अहिलेको विषम परिस्थितिमा कसरी सेवालाई सुचारु गर्ने र काम गर्ने वातावरण बनाउने भनेर कोसिस गरिरहेको र छिटो भन्दा छिटो गृह मन्त्रालयको सेवा सुचारु गर्छौ ।”
कार्यालय पुगेका केही कर्मचारीहरू कार्यालयभित्र छरिएर रहेका कागजात समेट्ने, सरसफाई गर्ने लगायतका काम गरिरहेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रमा पनि आगजनी र तोडफोडले क्षति पुर्याएपछि अव काम कसरी र कहाँबाट शुरुगर्ने भनेर कर्मचारी अन्योलमै छन् । सतर्कता केन्द्रका कर्मचारी अनिल कोइराला सतर्कता केन्द्रको प्रशासन कक्षमा सबै भन्दा बढी क्षति पुगेको र कार्यालयमा बसेर काम गर्ने जस्तो अवस्था छैन भन्नुहुन्छ ।
भदौ २३ गते सोमबार कार्यालयको काम सकेर घर फर्किएका कर्मचारी आइतबार कार्यालय आउँदा आफूले काम गरिरहेको कम्प्युटर, कागजात, आफू बस्ने कुर्सीको अवस्था देख्दा निरास देखिन्थे ।
मन्त्रालयमा भेटिनु भएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका कम्प्युटर अपरेटर दिल कुमारी लिम्बु कार्यालयको केही भागमा अझै आगो ननिभेको र महत्वपूर्ण कागजात यत्रतत्र छरिएर रहेकाले काम कहाँबाट शुरु गर्ने भन्ने अन्यौल रहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ छरिएर रहेका कागजात समेट्दै सरसफाइको काम गरिरहेका छौ ।
कर्मचारी आफ्नो कार्यालय सँगै सिंहदरबार भित्र रहेका सबै कार्यालयहरूको अवस्था नियाल्दै विभिन्न मन्त्रालयहरूमा पुुगीरहेका थिए । मन्त्रालयहरू कतिपय कागजात आगजनी र तोडफोडबाट नष्ट भएपनि बाँकी रहेको कागजात, महत्वपूर्ण सामग्री समेट्दै नियमित काम अगाडी बढाउने तयारीमा जुटिरहेका छन् ।
आगलागीले ध्वस्त भएका कार्यालयहरूमा यत्रतत्र छरिएर रहेका महत्वपूर्ण कागजातलगायतका सामग्री खोज्दै कर्मचारीहरू नियमित काम अगाडि बढाउने तयारी गरिहरेका छन् ।
तस्विर: मिलन ढुङगाना







प्रतिक्रिया राख्नुहोस्