घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु
बर्दिया । बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं १२ टडुवामा रहेको नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरेपछि सोही ठाउँकी २८ वर्षीय कविता तामाङको मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा घाँस काट्न जाने क्रममा तामाङलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमण गरेपश्चात् सँगै गएका साथीहरूले स्थानीयबासीलाई खबर गरेका थिए । स्थानीयबासीले हो हल्ला गरेपछि चितुवाले छोडेर भागेको थियो । तामाङको घटनास्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो । उहाँले बिहान जङ्गलमा चार जनाको समूहमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गरेको बताउनुभयो ।

मृतक महिलाको घरमा तीन वर्षको बच्चा रहेको स्थानीयबासीले बताएका छन् । पटक-पटक चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी त्रसित भएका छन् । गत साउन ३१ गते सो स्थानबाट नजिक रहेको गुलरिया नगरपालिका वडा नं ११ भैँसाहीमा चितुवाले आक्रमण गर्दा ४५ वर्षीय जगतरानी थारूको मृत्यु भएको थियो ।
चितुवा नियन्त्रणका लागि स्थानीयवासीले माग गरेका छन् । एक महिनाको अन्तरालमा नजिकै दुई जनाको मृत्यु हुँदा पनि सम्बन्धित निकायले चितुवा नियन्त्रणमा लिन नसकेको स्थानीयले बताएका छन् ।
एकमहिना अघिदेखि चितुवा नियन्त्रणका लागि क्यामेरा र चार ओटा पासो राखिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । उहाँले चितुवा नियन्त्रणका लागि लगातार प्रयास गरेपनि पासोमा चितुवा नपरेको बताउनु भयो । घटना पछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मीको टोली घटनास्थल तर्फ हिँडेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्