तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने, घाइतेको निःशुल्क उपचार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा पदभार ग्रहण गर्नुहुँदै जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरूलाई शहीद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । 

त्यसैगरी  आन्दोलनमा मृत्यु भएका प्रत्येकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णयमा पनि प्रधानमन्त्री कार्कीले हस्ताक्षर गर्नुभयो । 

पदभार ग्रहण गरेपछि नवनियुक्त प्रधानमन्त्री कार्कीले  जेनजी आन्दोलनले मुलुकको अत्यावश्यक  संस्थाका कागजातहरू जलाउनु दुःखद भएको भन्दै राज्यका महत्वपूर्ण सम्पत्ति जलाउनेहरूमाथि अनुसन्धान गरी कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो । 

सडकबाट जेनजी युवाहरूको मागले आफू जिम्मेवारीमा आएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्धता रहेको बताउनुभयो 

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडका घटना सुनियोजित र लामो तयारीका साथ गरिएको हुन सक्ने बताउनुभयो । 

जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, व्यापारिक केन्द्रलगायतका देशैभरका सम्पत्तिमाथि भएको  आगजनी लज्जास्पद भएको पनि बताउनुभयो । त्यसअघि प्रधानमन्त्री कार्कीले  आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नुभएको थियो । 

तस्विर: मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button