तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका विद्यालयहरू भोलिबाट सञ्चालनमा आउँदै 

चितवन । जेनजी समूहको नाममा भएको आन्दोलनका कारण बन्द रहेका चितवनका शैक्षिक संस्थाहरू भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

शनिबार भरतपुरमा बसेको सम्बन्धित कार्यालय प्रमुखहरूको बैठकले आइतबारदेखि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्यीकरण हुँदै गएकोले सम्पूर्ण विद्यालय आइतबारदेखि पूर्ववत् रुपमा सञ्चालन गर्न भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गरी विद्यालय सञ्चालन गर्न समेत अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनासहितको जिल्ला सुरक्षा संयन्त्र, सरोकारवाला विद्यालय, चितवन–उद्योग वाणिज्य संघ, यातायात व्यवसायी र निर्माण व्यवसायी समेतको बैठक आइतबारबाट विद्यालयसहित सबै उद्योग व्यवसाय सुचारु गर्ने निर्णय गरेको प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।

कुनै कारणवस विद्यालयलगायत कुनै पनि व्यवसाय सञ्चालन हुन नसके स्पष्टीकरण मागिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । ‘हामी सुरक्षा दिन तयार छौँ, निर्धक्क भएर पूर्ववतरुपमा काममा फर्किनुहोस्’, प्रजिअ अर्यालले भन्नुभयो ।

त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भरतपुर महानगर कमिटीले एक सूचना जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन हुने जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button