तपाईँ सुन्दै हुनुहुन्छः

कास्की कारागारमा ८५ जना कैदीबन्दी फर्किए

गण्डकी । जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये आज साँझसम्ममा ८५ जना कारागार फर्किएका छन् । 

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ । “कारागार विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “हामीले आफन्तमार्फत कैदीबन्दीलाई सम्पर्क गरेर तत्काल कारागार फर्कन भनेका छौँ ।”

जेनजी प्रदर्शनकारीको आन्दोलन उग्र बन्दै गएपछि गत मङ्गलवार राति कारागारबाट कैदीबन्दी फरार भएका थिए । प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । 

कास्की कारागारबाट भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पर्वत र बागलुङको सीमा क्षेत्र मालढुङ्गाबाट बिहीबार नियन्त्रणमा लिएको थियो । भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय बनेको छ । कास्की, म्याग्दीलगायतका कारागारबाट कैदीबन्दी भागेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button