देशको प्रमुख भन्सार नाका वीरगन्ज सुचारु
वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार सञ्चालनमा आएको छ ।

जेन्जी समूहको आन्दोलनको कारण उत्पन्न तनावले भदौ २४ र २५ गते बन्द भएको भन्सार नाका सुरक्षा अवस्था सबल बनेसँगै २६ गते बिहीबारदेखि सुचारु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धतासँगै वीरगन्ज नाकाबाट अत्यावश्यक वस्तुको ढुवानी सुचारु गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।
बिहीबार ४४ वटा पेट्रोल ट्याङ्कर र ४० वटा ग्याँस बुलेट, औषधी लगायतका सामान बोकेका ट्रकहरू काठमाडौँतर्फ पठाइएको ज्ञवालीले बताउनुभयो ।
हिजो एकैदिन वीरगन्ज भन्सारले १० करोड बढी राजश्व सङ्कलन गरेको र आज हिजोभन्दा बढी राजश्व सङ्कलन हुने अपेक्षा गरिएको उहाँले दाबी गर्नुभयो ।
आज पनि विशेषगरी इन्धन, औषधी लगायत दैनिक उपभोग्य सामाग्रीहरू भन्सार नाका पास भई देशका विभिन्न स्थानमा जाने क्रम जारी रहेको र भन्सार बाहिरको सुरक्षालाई मध्यनजर गर्दै आयात निर्यात व्यापारलाई लयमा फर्काउने काम भइरहेको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो ।
उहाँले भारततर्फ कुनै समस्या नभएको र लगातार रूपमा सामान आइरहेको बताउँदै सुरक्षा सबल हुने बित्तिकै वीरगन्ज भन्सार पूर्णरुपमा लयमा फर्किने समेत दाबी गर्नुभयो ।
आज वीरगन्ज नाकाबाट डाबर नेपालको उत्पादनहरू भारततर्फ पठाउने काम भएको र आयात निर्यात व्यापार निर्वाधरुपमा सञ्चालन भइरहेको ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्