तपाईँ सुन्दै हुनुहुन्छः

कारागारबाट भागेका दुई कैदी झापाको सीमाक्षेत्रमा पक्राउ

झापा । जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका दुईजना कैदीबन्दी झापाका सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार लागुऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी घर भएकी ५० वर्षीया महिला पक्राउ परेकी हुन् ।

गएराति ११ः१५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा ती महिलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ । जेनजीको आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट भदौ २४ गते फरार भएको बताइएको छ ।

त्यस्तै कारागारबाट फरार भएका अर्का एक युवक भारतीय सीमा क्षेत्रमा पक्राउ परेका छन् । बुधवार राति करिब १० बजे भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले काठमाडौँको कारागारबाट भागेर आएका मोरङ विराटनगर–३ का सुरज कामतलाई पक्राउ गरेको छ । मोरङको आमबारी हुँदै इ–रिक्सा र पैदल उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागुऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । बिहीबार कैदी कामतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button