ताप्लेजुङमा आज साँझदेखि भोलि बिहानसम्म कर्फ्यु आदेश जारी
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाको शान्ति–सुरक्षा कायम गर्न कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बिहीबार दिउँसो जारी गरेको आदेशअनुसार आज साँझ ६ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यु लागू हुनेछ । आदेशमा पूर्वमा भारत सीमा, पश्चिममा सङ्खुवासभा, उत्तरमा चीन (तिब्बत) सीमा र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लासम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ ।
कर्फ्यु अवधिभर कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
यद्यपि, कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने सुरक्षाकर्मीको सहजीकरणसहित आवतजावतको अनुमति दिइने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्