कहिले सुचारु हुनसक्ला सिंहदरबार…
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, त्यहाँ रहेका मन्त्रालय र अन्य सरकारी कार्यालयहरू सुनसान छन् ।

बिहीबार बिहान साढे ११ बजे हामी सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुग्दा कुनै भागमा अझै आगो लागिरहेको र अन्य भागमा धुँवा आइरहेको देखिन्थ्यो । कार्यालय पुगेका केही कर्मचारीहरू सकेसम्म केही कागजात जोगाउन सकिन्छ कि भन्नेमा आसावादी भएपनि आगोको राप र धुवाँका कारण भित्र छिर्न नसक्दा दुःखी थिए ।

कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कम्प्युटर सहितका सामग्रीहरूबाट अझै धुवाँ आइरहेको छ । कार्यालयभित्र तातो रापका कारण भित्र छिर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि कार्यालयमा फाट्टफुट्ट भेटिएका कर्मचारी कार्यालय र आफूले काम गरिरहेको ठाउँ र महत्वपूर्ण कागजात तहसनहस भएको देख्दा निराश देखिन्थे ।
कार्यालय परिसरभित्र भेटिनुभएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शाखा अधिकृत देवेन्द्र सुबेदी भन्नुहुन्छ “ आफूले काम गरिरहेको कार्यालयको अवस्था देखेर धेरै दुःख लागेको छ, काम त पालमा नै बसेर भएपनि गरौला तर यो कार्यालयका जुन खालका सार्वभौम सत्तालाई नै सहयोग पुग्ने महत्वपूर्ण कागजात र डकुमेन्ट थिए ती जले, डढे र नष्ट भए । कम्प्युटरको मेमोरिमा रहेका डाटाहरू र मन्त्रीपरिषद्का निर्णयहरू समेत अब रहेनन् र ती रिकभर हुन पनि सक्दैन ।” यसबाट यसअघि कसैले गरेका राम्रा काम र नराम्रा काम दुवैका कानुनी दस्ताबेज नष्ट भएका छन् ।
“यो भ्रष्टाचार विरुद्ध भएको आन्दोलनबाट जुन ठाउँमा पुग्यौ भन्ने छ यसबाट भ्रष्टाचारी कोही थियो र भ्रष्टाचार कहीँबाट भएको थियो भने त्यसको कारबाहीका लागि चाहिने प्रमाणसमेत नष्ट भएका छन् यस विषयमा पनि सोच्नु पर्थ्यो तर अवस्था अलि फरक भइदियो” शाखा अधिकृत सुबेदी भन्नुहुन्छ ।

प्रधानमन्त्री कार्यालयमा जस्तै गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, सतर्कता केन्द्रलगायतका कार्यालयहरूमा तोडफोड तथा आगजनीका कारण महत्वपूर्ण कागजात र कम्प्युटरहरूमा ठुलै क्षति पुगेको छ ।

कागजातहरू कार्यालय परिसरमा यत्रतत्र छरिएका छन् । कार्यालयका पार्किङमा राखिएका सबैजसो सवारी साधन जलेर नष्ट भएका छन् भने कार्यालयभित्रका केही कुर्सी टेबल बाहिर निकालेर जलाइएका छन् त केही तोडफोड भएका छन् ।

सिंहदरबारमा भेटिनुभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अश्विन कुमार पोखरेल कार्यालयको तल्लो भागमा क्षति पुगेको भएपनि माथिल्लो भाग सुरक्षित देखिएकाले कागजपत्र सुरक्षित छ कि भन्ने झिनो आशा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ बाहिरबाट हेर्दा मन्त्रालय सग्लो र धेरै क्षति नभए जस्तो देखिन्छ, तर बाहिर राखिएका सवारी साधनहरू पूर्ण रुपमा क्षति भएका छन् । मन्त्रालयको तल्लो तलामा धेरै क्षति भएको र माथिल्लो तलामा क्षति कम भएको तथा कार्यकक्षहरू सुरक्षित रहेका कारण महत्वपूर्ण दस्ताबेज सुरक्षित छन् भन्ने आश गर्न सकिने र कति क्षति भयो भन्ने आँकलन नगरी कति सुरक्षित हुन्छौ र काम गर्न सक्छौ भन्ने अवस्था अहिले छैन ।”

सिंहदरबार परिसरभित्र ठूलो मात्रामा जलाइएका सवारी साधनहरू यथा अवस्थामै रहेका छन् । कार्यालय भवनहरूमा लगाइएका आगो अझै निभी नसकेको हुँदा सरसफाइ हुन सकेको छैन । तोडफोड र आगलागीबाट भएका क्षतिको आँकलन गर्न निकै समय लाग्ने देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जलेका मन्त्रालयहरुको सरसफाइ, क्षतिको आँकलन र मर्मत सम्भार कहिलेसम्म भइसक्ने भन्ने निश्चित नहुँदा कार्यालयहरू कहिलेदेखि कसरी सुचारु हुने भन्ने अन्योल कायमै रहने देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्