तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा पहिलो पटक मत्स्य पाठशाला सञ्चालनको तयारी

जनकपुरधाम । माछा उत्पादनमा थप वृद्धि गरि मुलुकलाई माछामा आत्म निर्भर बनाउदै विदेश निर्यात गर्ने क्षमता हाँसिल गर्नका लागि पहिलो पटक माछा सम्बन्धि प्रशिक्षणका लागि मत्स्य कृषक पाठशाला सञ्चालनको तयारी भएको छ ।

माछाको कूल उत्पादन मध्ये अधिकांश उत्पादनको हिस्सा अगोटेका मधेश प्रदेश सहित माछा उत्पादन हुने अन्य प्रदेशका जिल्लामा नेपालमा नै पहिलो पटक मत्स्य कृषक पाठशाला सञ्चालनको तयारी गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका मत्स्य विज्ञ विष्णुदेव यादवले जानकारी दिनुभयो ।

माछाको सुपर जोन सञ्चालन रहेको धनुषा, बारा तथा रुपन्देही जिल्ला र जोन कार्यक्रम सञ्चालन रहेको झापा, सिरहा, महोत्तरी, रौतहट, पर्सा, कपिलवस्तु, बर्दिया, कैलाली तथा चितवन जिल्लाका माछाका अगुवा किसानहरूलाई प्रशिक्षण दिनका लागि प्रशिक्षकहरू तयार गरेर सम्बन्धित जिल्लामा पठाइएको छ । १९ दिनको प्रशिक्षण लिएका अगुवा किसानहरुले माछाको उत्पादन बढाउने विषयमा अन्य किसानहरूलाई जिल्ला जिल्लामा पुगेर मत्स्य कृषि पाठशाला मार्फत प्रशिक्षण दिने कार्यक्रम रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई धनुषाका नायव प्राविधिक सहायक अजय शर्माले जानकारी दिनुभयो ।

मत्स्य क्षेत्रका अगुवा एवं विज्ञहरुले मत्स्य मानव संशासन विकास केन्द्र जनकपुरधाममा माछा उत्पादनको विभिन्न पक्षहरूका विषयमा प्रशिक्षण दिनु भएको र उहाँहरूले माछा उत्पादनमा सक्रिय रहेका किसानहरूलाई मत्स्य कृषक पाठशाला मार्फत ठाउँको ठाउँ प्रशिक्षण दिने कृषि आधुनिकीकरण कार्यक्रम धनुषाका कृषि अधिकृत राकेश कुमार यादवले जानकारी दिनुभयो ।

माछाको उत्पादनको दृष्टिकोणले मधेश प्रदेश निक्कै अगाडी रहेको छ । नेपालमा उत्पादन हुने १ लाख २३ हजार ४ सय ३ मेट्रिक टन माछा मध्ये मधेश प्रदेशमा मात्र ४८ हजार ४ सय ५५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । नेपालमा उत्पादन भएको माछाले करिब करिब माग पुरा भए पनि अझै वार्षिक रुपमा ४ हजार ८ सय ८६ मेट्रिक टनले कम रहेको कृषि विभागले जनाएको छ ।

नेपालका दोस्रो बढी माछा उत्पादन हुने प्रदेशमा लुम्बिनी प्रदेश रहेका छन् । लुम्बिनी प्रदेशमा १५ हजार ९ सय ९ मेट्रिक टन उत्पादन हुने गरेको छ । सबै भन्दा कम माछा उत्पादन कर्णाली प्रदेशमा हुने गरेको छ । कर्णालीमा १ सय २६ मेट्रिक टन माछा वार्षिक रुपमा उत्पादन हुने गरेको छ । तेस्रो बढी माछा उत्पादन हुने प्रदेशमा गण्डकी रहेको छ । गण्डकीमा १५ हजार ४६ मेट्रिक टन वार्षिक रुपमा उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button