तपाईँ सुन्दै हुनुहुन्छः

मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङको ट्रफी सार्वजनिक

झापा । झापामा आयोजना हुने तेस्रो मिस्टर कञ्चनजङ्घा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको तयारीबारे जानकारी दिन आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो ।

आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीले यही भदौ २७ र २८ गते बिर्तामोडको सिटी सेन्टरमा सम्पन्न हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने अध्यक्ष पराजुलीले बताउनुभयो ।

प्रतियोगितामा देशभरबाट ५५ केजीदेखि ७५ केजीभन्दा माथि सम्मका विभिन्न ६ विधामा करिब १५० खेलाडीको सहभागिता रहनेछ ।

पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएकोमा यो संस्करणबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएको कार्यक्रम संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालले बताउनुभयो ।

विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुनेले तीन लाख, तेस्रोले दुई लाख, चौथोले एक लाख, पाँचौँले ७५ हजार र छैटौँ स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै, हरेक तौल समूहमा दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने दाहालले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button