तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली करिडोर सञ्चालनमा आएपछि हुम्लामा महँगी आधा घट्यो

सुर्खेत । कर्णाली करिडोर सडक सञ्चालनमा आएपछि हुम्लामा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीको मूल्य घटेको छ । 

सडक विस्तारले ढुवानी सहज हुनुका साथै बजारमा सामान सस्तो र सहजै उपलब्ध हुन थालेको हो । 

स्थानीय उत्पादनको बजार विस्तारसँगै रोजगारी र आर्थिक गतिविधि बढ्न थालेका छन् । सडक पहुँचको विस्तारसँगै स्थानीयको जीवनशैलीमा सुधार आउन थालेको छ । पछिल्लो समय विकास निर्माणका कामले गाउँमा परिवर्तन ल्याएको सिमकोट गाउँपालिका–५ का बलबहादुर रोकायाले बताउनुभयो । 

उहाँले एक वर्षअघिसम्म ५ किलो चामलका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको जनाउनुभयो । महँगीले बजारको चामल किन्नै नसकिने, खाद्यमा दिनभरि लाइन बसेर पनि कहिलेकाहीँ रित्तो हात फर्किनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले गाडी पुगेपछि पुस्तौँदेखिको चामलको टन्टाबाट मुक्ति पाएका जनाउनुभयो । 

उहाँका अनुसार सडक सुविधा नहुँदा यसअघि जहाजमा प्रतिकिलो १ सय २५ रुपैयाँ ढुवानी भाडा तिरेर खाद्यान्नको जोहो गर्नुपर्ने बाध्यता थियो । कर्णाली कोरिडोरअन्तर्गतको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा गत असार २२ मा बेलिब्रिज निर्माण भएपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । 

दक्षिणतर्फ नेपाल–भारत सीमाको नेपालगन्ज–जमुनाहादेखि उत्तरतर्फ हिल्सा हुँदै चीनतर्फको नाका जोड्ने कर्णाली करिडोर ६ सय ८२ किलोमिटर लामो छ  । २०५७ सालबाट निर्माण सुरु गरिएको यो सडकले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको हो । सडक पुगेसँगै सस्तो ढुवानीले उपभोग्य वस्तुको मूल्य आधा घटेको सिमकोटका व्यवसायी सुन्दर लामाले बताउनुभयो । 

उहाँका अनुसार अहिले खाद्यान्नको मूल्य प्रतिकिलो कम्तीमा ८० देखि १ सय रुपैयाँसम्म घटेको छ । यातायात सञ्चालनमा आएपछि चामल, दाल, तेल, चिनी, एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको मूल्य कम्तीमा ४० प्रतिशतले घटेको उहाँको भनाइ छ । 

हुम्ला सदरमुकामसँग अन्य पालिकाहरू पनि सडक सञ्जालमा जोडिएपछि घोडा, खच्चड व्यवसाय गर्नेहरूले धमाधम ट्याक्टर, बस, मिनिट्रक किन्न थालेका छन् भने किसानहरु होटल, ढुवानी व्यवसाय, पसललगायतमा लगानी गर्न थालेका छन् । सडक पुगेसँगै हुम्लाका गाउँ साना बजारमा परिणत हुन थालेका छन् । गाडी पुगेपछि हुम्लामा उत्पादन भइरहेको सिमी, स्याउ, मार्सी, आलु, उवा र चिनोलगायत अर्ग्यानिक उत्पादनले सजिलै बजार पाउन थालेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । 

उहाँले अहिले खाद्यान्न र उपभोग्य सामान ल्याएका ट्रकहरूमा यताको स्याउलगायत हुम्लाको उत्पादन सहर गइरहेको बताउनुभयो । सडकले सहरसम्मको दूरी मात्रै छोट्टिएन, भान्सा समेत सस्तिएर स्थानीयलाई जीविकोपार्जनको आधार दिएको उहाँले बताउनुभयो । 

अहिले नेपालगन्जबाट आएका व्यापारीले बगैँचा मै गएर प्रतिकिलो ५० रुपैयाँमा स्याउ खरिद गरि लिइरहेका छन् । सडक पुगेसँगै हुम्लामा निर्माण सामग्री पनि सजिलै पाउन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार सिमेन्ट प्रतिबोरा साढे ८ हजार रुपैयाँ पर्नेमा अहिले २ हजार रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो २ सय ८० पर्ने फलामे डन्डी १ सय २२ र प्रतिबन्डल २२ हजार पर्ने जस्तापाता १३ हजार ५ सय रुपैयाँमा झरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सामग्रीको मूल्य घटेसँगै सदरमुकाम र आसपासका व्यापारिक केन्द्रमा स्थानीयले धमाधम पक्की घर निर्माण गर्न थालेका छन् । डिजेल प्रतिलिटर ४ सय पर्नेमा अहिले १ सय ६५ र पेट्रोल प्रतिलिटर ५ सय पर्नेमा अहिले २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button