नरभक्षी बाघको आक्रमणबाट एकको मृत्यु
वीरगञ्ज । बारामा आज फेरी नरभक्षी बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । यो घटनासँगै पछिल्लो दुई महिनामा बारामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
आज बिहान च्याउ टिप्न प्रगतिशील सामुदायिक वनमा गएका जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ निवासी ६० वर्षीय छेवाङ्ग लामाको बाघले आक्रमणमा ज्यान गएको छ ।
बिहान करिब ७ बजेतिर भएको यो घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीका अनुसार लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जले मानिसमाथि बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सीसी क्यामेरा जडान गरेको जनाएको छ ।
साथै, नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली पनि बोलाइएको छ । यसअघि पनि बाराको अम्लेखगञ्जमा तीनजना स्थानीयको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्