ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्नेको भिड
जनकपुरधाम । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु अघिल्लो दिन आज मिथिला सहित तराई मधेशका जिल्लाहरूमा ऋषि तर्पण सम्पन्न भएको छ ।
पितृ तर्पण शुरु हुनुभन्दा अघिल्लो दिन देवता तुल्य ऋषि मुनिको स्मरणमा तर्पण गर्ने चलन हिन्दू संस्कृतिमा रहेको हो । जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउको रुपमा रहेको गंगासारमा हजारौँ व्यक्तिले ऋषिमुनिको स्मरण गरेर तर्पण गर्नु भएको छ ।

बिहानदेखिनै ऋषि तर्पणीको कार्यक्रममा सरिक हुनका लागि गाउँ गाउँबाट ठूलो सङ्ख्यामा भक्तजनहरू जनकपुरधाम आउनु भएको थियो । जनकपुरधामको गंगासागरको अतिरिक्त धनुषसागर, विहारगुण्ड, अग्निकुण्ड तथा दुग्धमतिमा तर्पण गर्ने टुहुराहरूको भिड रहेका थिए ।

पितृ तर्पण शुरु हुनुभन्दा एकदिन अगाडी हुने ऋषि तर्पणीमा काँक्रो, खरको फूल तथा सङ्खले तर्पण गर्ने शास्त्रीय मान्यता रहेको जनकपुरधामका पण्डित शोभाकान्त झाले जानकारी दिनु भयो । पितृ श्राद्ध शुरु हुनु भन्दा पूर्व देउता तथा ऋषिको स्मरण गर्ने चलन रहेको छ ।
भदौ कृष्णपक्ष प्रतिपदा तिथिबाट पितृ तर्पण शुरु हुने गरेको छ । यसमा बुबा नभएका सन्ताहरुले पितृ प्रति श्रद्धाभाव प्रकट गर्नका लागि तर्पण गर्ने चलन रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्