संस्कृति जोगाउन परम्परागत पहिरनमा महिला
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ स्थित धार्मिक स्थल रतुडीमाडुमा शनिबार भदौ शुक्ल चतुर्दशीका अवसरमा लागेको विशेष पूजा एवम् मेलामा स्थानीय महिलाहरू परम्परागत संस्कृति झल्किने पोशाकमा सजिएर सहभागी हुनुभयो।

महिलाहरूले टाउकोमा जमरा र पूजा सामग्री बोकेर लुङ्गी,चोलो,पटुको लगायतका पुराना ऐतिहासिक पहिरनमा उपस्थित भई मेलालाई सांस्कृतिक रङ्ग दिनुभएको थियो। यसरी परम्परागत पोशाकमा महिलाहरूको उपस्थितिले स्थानीय संस्कृति झल्किनुका साथै मौलिकता जोगाउन पनि ठूलो योगदान पुर्याएको भन्दै सहभागीहरूले प्रशंसा गरेका छन्।

पछिल्लो समय बाजुरामा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मात्र नभई विवाह,पाटी, तिहार मेलामा समेत महिला तथा युवतीहरूले यस्तै परम्परागत पोशाक लगाउने चलन बढ्दो क्रममा रहेको छ।

स्थानीय सुना विकका अनुसार, ऐतिहासिक पोशाक संरक्षण र प्रवर्द्धनका लागि यस्ता अवसरमा परम्परागत पहिरन लगाउन थालिएको हो। यसले हाम्रो मौलिक संस्कृतिलाई अझ सशक्त बनाउन सहयोग पुर्याउँछ ।
सांस्कृतिक धरोहरको रूपमा रहेको परम्परागत पहिरनलाई नयाँ पुस्ताले पनि अङ्गाल्न थालेकाले यसलाई बाजुराको सांस्कृतिक पहिचानको जगेर्नामा सकारात्मक सङ्केतको रूपमा लिइएको छ।
प्रतिक्रिया राख्नुहोस्