इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुआत
बाँके। बाँके जिल्ला स्तरीय यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले विजयी सुरुआत गरेको छ ।
नेपालगन्ज रंगशालामा शनिबार भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेडले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गर्यो । खेलमा कप्तान निशान थापाले दुई गोल गर्दा समर गुरुङ र निश्चल सुवालले एक–एक गोल गरे ।
यसैगरी छात्र तर्फको अर्को खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदनबीच प्राविधिक कारणले पहिलो हाफमै रोकिएको छ । पहिलो हाफमा सिद्धार्थ १–० ले अगाडि थियो । बाँकी खेल आइतबार हुने जनाइएको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका छन् । विजेता टोलीले लुम्बिनी प्रदेशस्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।
प्रतियोगिताको उद्घाटन बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश फुटबल संघका निवर्तमान उपाध्यक्ष सुर्यमणी अधिकारी, महिला फुटबल समिति बाँकेकी संयोजक नितु चन्द शाहलगायतको सहभागिता थियो ।
प्रतियोगिता भदौ २१ देखि २७ गतेसम्म नेपालगन्ज रंगशालामा सञ्चालन हुनेछ । एन्फाको सहयोगमा आयोजना गरिएको यो प्रतियोगिता गत वर्ष मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन योन्जनको स्मृतिमा समर्पित गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्