बाढीपहिरोका कारण कर्णालीका चार सडक अवरुद्ध
सुर्खेत । बाढीपहिरोका कारण कर्णालीका चार सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सुर्खेत जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) केदार खनालका अनुसार हिजोदेखि नै परिरहेको वर्षाका कारण गगने खोलामा पहिरो खसेपछि यातायातका सवारी साधन चल्न सक्ने अवस्था छैन । अहिले पनि पहिरो बगिरहेकोले काम गर्न पनि कठिनाइ भइरहेको छ ।
उता कर्णाली करिडोरको सर्केगाडदेखि मिमि हुँदै मुगु जाने सडक समेत पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै सिमिकोट–हिल्सा सडक समेत पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । भेरी करिडोर अन्तर्गत जाजरकोट–रुकुम पश्चिम–डोल्पा सडकको गोतमकोट खोली बगरमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउन डोल्पाबाट डोजर प्रस्थान गरेको (एसएसपी) खनालले जानकारी दिनुभयो । सरोकारवाला निकायको सहयोगमा सबै ठाउँका अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्