परम्परागत बाली फापर उत्पादनमा कृषकको आकर्षण बढ्दै

मुगु । मुगु जिल्लाका विभिन्न गाउँमा परम्परागत बालीको रूपमा चिनिएको फापरप्रति किसानको आकर्षण पछिल्ला वर्षमा बढ्दै गएको छ। आधुनिक तरकारी र नगदे बालीतर्फको ध्यान बढेसँगै केही समय ओझेलमा परेको फापर अहिले फेरि गाउँघरका बारी र खेतबारीमा हरियो देखिन थालेको छ।
विशेषगरी मुर्मा, पिना, रारा र आसपासका उच्च भेगका बस्तीहरूमा किसानहरूले परम्परागत रूपमा जगेडा राख्दै आएको फापर अहिले पुनः आम्दानीको माध्यम बन्न थालेको छ। स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई बजारमा पनि राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ सक्रिय भएका छन्।

स्थानिय शिक्षक तथा कृषक नन्दसिंह रोकायाका अनुसार, “हाम्रो पुरानो परम्परा नै फापर खेती हो। पहिलेका हजुरबुबा–बाजेका समयमा मुख्य अन्न यही हुन्थ्यो। अहिले बजारमा चामल र गहुँले ठाउँ लिएको भए पनि फापर खेती फाइदाजनक भएकाले यसको लोकप्रियता बढ्दै गएको छ।”
त्यसैगरी वडा नं ९, मुर्मा गाउँका कृषक झुपुकला रोकायाले पनि फापर खेतीबाट आम्दानी बढ्ने सम्भावना उल्लेख गरे। उहाँका अनुसार, “पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो। तर अहिले यसको पिठो र परिकार बजारमा उच्च मूल्यमा बिक्री हुने भएकाले यसले किसानलाई आत्मनिर्भर बनाउँदछ र आयस्रोत पनि बढाउँदछ।”
मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने घरेलु तथा विदेशी पर्यटकले पनि स्थानीय उत्पादनको खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढिरहेको छ। होटल व्यवसायीहरूका अनुसार, पर्यटक विशेषगरी फापरको ढिडो, रोटी, लड्डु र विविध परिकारको माग गर्छन्। यसले किसानलाई उत्पादन बढाउन थप हौसला दिएको छ।
फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर र आइरन जस्ता पौष्टिक तत्व हुने भएकाले यसको माग बढेको हो। उच्च रक्तचाप, मधुमेह र मुटु रोगीका लागि उपयुक्त मानिने फापरले स्थानीय उत्पादनलाई बाहिरी बजारमा पनि प्रतिस्पर्धा गर्न सक्षम बनाएको किसानहरूको भनाइ छ।

जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च कम हुने भएकाले किसानले जोखिम बिना नै राम्रो आम्दानी गर्न सक्छन्। स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आय आर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्।
विशेषगरी मुगुका उच्च हिमाली बस्तीहरूमा फापर खेती निकै लोकप्रिय बन्दै गएको छ।
प्रतिक्रिया राख्नुहोस्