पूर्व प्रधानमन्त्री एवं साहित्यकार चन्दको कृति ‘बदलिँदो समयचक्र’ विमोचन
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ आज विमोचन गरिएको छ ।
मदन पुरस्कार बिजेतासमेत रहनुभएका साहित्यकार चन्दको उपन्यासमा सामाजिक कथावस्तु समावेश गरिएको छ । १४४ पेजको उपन्यासमा २५ उपशीर्षक छन् ।
यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ समालोचक वासुदेव त्रिपाठीले उक्त पुस्तक विमोचन गर्दै सामाजिक विषयवस्तुलाई समेटेर लेखिएको कृतिले नेपाली साहित्यलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व प्रधानमन्त्री चन्दले सामाजिक रूपान्तरण तथा आर्थिक विकासका लागि पथप्रदर्शन गर्न साहित्य सशक्त माध्यम भएको बताउनुभयो ।
राप्रपाका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली साहित्य क्षेत्रलाई दर्जनौँ कृति दिनुभएका चन्दको साहित्यिक सृजनाले समाजका सबै वर्ग र पक्षलाई समाहित गर्न सक्ने उल्लेख गर्नुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक विकृति, विसङ्गतिका विरुद्ध गहिरो अध्ययन तथा विश्लेषण गरी चन्दले लेखेको कृतिको विशिष्ट पक्ष भनेको नेपाली समाज सुदृढ र एकताबद्ध गर्नु रहेको बताउनुभयो ।
उहाँका यसअघि विभिन्न कथा, नाटक र उपन्यास सङ्ग्रह प्रकाशित छन् । चन्दको विसर्जन कथासङ्ग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । चन्दका चर्चित पुस्तकहरू अपराजिता, बाह्रौँ खेलाडी, रात्रि भोज, हिउँको तन्ना, नेताको साथीलगायत प्रकाशित छन् ।








प्रतिक्रिया राख्नुहोस्