तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित सगरमाथा विमानस्थल घाँसे मैदानमा परिणत, हजारौँ रुख फडानी गरी वन क्षेत्र उजाड

उदयपुर । उदयपुरमा निर्माण गर्न लागिएको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल हाल घाँसे मैदानमा परिणत भएको छ ।

त्रियुगा नगरपालिका–१ र २ को जोगीदह क्षेत्रमा पर्ने शिवालय धार्मिक वन, कंग सामुदायिक वन र मोतिहायी सामुदायिक वनका कुल १५६.११ हेक्टरमध्ये १०५ हेक्टर वन क्षेत्र फडानी गरी विमानस्थलको नाममा उजाड पारिएको थियो । तर, तीन वर्ष बितिसक्दा पनि विमानस्थल निर्माण नहुँदा उक्त क्षेत्र अहिले खाली घाँसे मैदान बनेको छ ।

स्थानीयवासीले वन फडानीलाई योजनाविहीन निर्णय भन्दै आपत्ति जनाएका छन् । प्रारम्भिक समितिका कोषाध्यक्ष समेत रहेका स्थानीय रुद्र अधिकारीका अनुसार हरियाली वन उजाडिएर हाल सो क्षेत्रमा स्थानीयले गाई–भैँसी चराउने गरेका छन् ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख घनेन्द्र श्रेष्ठले उक्त वन क्षेत्र नागरिक उड्डयन प्राधिकरणको नाममा हस्तान्तरण भइसकेको तर संरक्षणको जिम्मा पनि प्राधिकरणकै भएको बताउनुभयो । तर, जिल्ला मालपोत कार्यालयका प्रमुख डुबिन्द्रप्रसाद बरालले भने अझै वनकै नाममा दर्ता रहेको स्पष्ट पार्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नबनाई वन फडानी गर्नु दुःखद भएको बताउनुभयो । उहाँले चुनावी प्रचारका लागि विमानस्थलको नाममा वन क्षेत्र उजाडिएको आरोपसमेत लगाउनुभयो ।

त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले विमानस्थल नबने पनि भविष्यमा सो जग्गा सुरक्षित राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । एमाले उदयपुरका अध्यक्ष भागवत राउतले डीपीआर नहुँदै रुख काट्ने निर्णय गलत भएको उल्लेख गर्नुभएको छ भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले भने विमानस्थल निर्माण प्रक्रिया अघि बढेको दाबी गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख हरिप्रसाद अधिकारीले हालसम्म डीपीआर नबनिएको र निर्माणका लागि ३ देखि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्राधिकरणका प्रवक्ता बबुराम पौडेलले बजेट अभावकै कारण योजना रोकिएको बताउनुभयो ।

२०७४ सालको निर्वाचनताका नेपाली काँग्रेसले जोगीदह क्षेत्रमा विमानस्थल बोर्ड राखी प्रचार थालेपछि वन क्षेत्र फडानी गरिएको थियो । तर, हालसम्म कुनै काम अघि नबढ्दा स्थानीयमा असन्तोष बढेको छ ।

उदयपुरका बासिन्दाले दशकौँदेखि विमानस्थलको सपना देख्दै आएका छन् । तर, तीन दशकदेखि पटक–पटक स्थान परिवर्तन भए पनि ठोस काम नहुँदा अब विमानस्थल राजनीतिक एजेन्डा मात्रै बन्न पुगेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button