तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण 

काठमाडौँ। निजामती सेवा दिवस–२०८२ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ । 

मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

निजामती सेवा दिवसको पूर्व सन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रूपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरू लाग्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दै गर्दा दायित्वलाई नबिर्सन समेत आग्रह गर्नुभयो । 

उर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताउनुभयो । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु प्रमुख उपाय भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले ऊर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाइ अभियानलाई निरन्तरता दिनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढङ्गले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रवार सरसफाइ कार्यक्रम गर्दै आएको बताउनुभयो । 

उक्त कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडीसँगै, जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गर्नुभएको थियो । 

यसै गरी, आजैदेखि सिंहदरबारभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेँगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त टोलीले सिंहदरबारभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button