तपाईँ सुन्दै हुनुहुन्छः

“बडिमालिका र खप्तडमा पदमार्ग निर्माण गर्ने तयारी”

बाजुरा। सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिका र खप्तडमा एसियाली विकास बैङ्क (एडिबी)को सहयोगमा पदमार्ग निर्माण गर्न लागेको छ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका र खप्तडमा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले एडिबीसँगको सम्झौताअनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्न लागेको हो।

प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले धार्मिक पर्यटनमा जोड दिएको बताउनुहुँदै एसियाली विकास बैङ्कको रु २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने जानकारी दिनुभयो।

प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसायी, होमस्टे (घरबास) प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ। बडिमालिका र खप्तडमा पदमार्ग निर्माण पछि सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको बडिमालिकाका पुजारी नेत्र उपाध्यायले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button