समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारत र चीनबीच भएको व्यापारिक सम्झौताको विरोध गर्दै गम्भीर रुपमा कूटनीतिक पहलमार्फत समस्या समाधान खोज्न सरकारलाई आग्रह गर्नुभएको छ ।
सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारत र चीनबीच भएको व्यापारिक सम्झौताका विषयमा चिनिया राष्ट्रपति सि जिङ पिङले भारत र नेपालको विषय भएको भनेर पन्छिएको विषयमा आपत्ति जनाउनुभयो ।
सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि नेपाली भूमि लिपुलेकको विषय राख्न र दुई मित्र राष्ट्रबिच भएको सम्झौता कार्यान्वयन नगर्न आग्रह गर्न ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले नेपालको प्रमुख समस्याका रुपमा रहेको औलो, हात्तीपाइले, कालाज्वर स्क्रबटाइफस, डेङ्गी, जापनिज इन्सेफ्लाइटिस जस्ता नयाँ तथा पुन देखिने किटजन्य रोगहरूको रोकथाम नियन्त्रण र निवारणका लागि नेपालले लिएको लक्ष्य पुरा गर्नेगरी जनशक्ति लगायतका व्यवस्थापन गर्न माग गर्नुभयो ।
सांसदहरुले बाह्य देशबाट आयातित विभिन्न बस्तुहरूका कारण नेपाली किसानले उत्पादन गरेका बस्तुहरूले बजार नपाउँदा किसान मारमा परिरहेको भन्दै नेपाली उत्पादनको खपतका लागि उचित व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले सरकारको समर्थन गरेका राजनीतिक दलले समर्थन फिर्ता लिएको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि अहिलेसम्म नलिएको विषयले गम्भीर प्रश्न उठाएको भन्दै आपत्ति समेत जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्