पोखरामा पहिलो पटक आर्म रेस्लिङ प्रतियोगिता हुने
पोखरा । पोखरामा पहिलो पटक आर्म रेस्लिङ प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ सङ्घ, कास्कीले पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ प्रतियोगिता–२०८२ गर्न लागेको प्रतियोगिताका संयोजक खली थापाले बताउनुभयो ।

पोखराको लेक साइडमा रहेको आइभिवाई क्लबमा यही भदौ २० र २१ गते उक्त प्रतियोगिता सञ्चालन हुने उहाँले जनाउनुभयो । चार वटा तौल समूहमा प्रतिस्पर्धा गराइने भएको छ । ६० केजी तौल समूह मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ भने विजेताहरूबाट समग्र विजेता घोषणा गरिने भएको छ ।
विधागत विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने समग्रमा च्याम्पियन हुनेलाई नगद एक लाख पुरस्कार प्रदान गरिने छ । उक्त खेलले पोखराको खेल पर्यटनमा टेवा पुग्ने आर्म रेस्लिङ सङ्घ कास्कीका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको पुरस्कार राशि अहिलेसम्मको सबैभन्दा धेरै रहेको उहाँले दाबी गर्नुभयो ।
पुरस्कार राशिमा मात्रै ४ लाख ५० हजारमाथि खर्च हुने अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन देशभरबाट करिब एक सय ५० बढी खेलाडी पोखरा आउने संयोजक थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्