राक्सिराङ गाउँपालिकामा न्वागी पर्वमा तीन दिन बिदा
मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम)को अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते गाउँपालिका क्षेत्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देशमार्फत चेपाङ समुदायको बाहुल्य रहेकाले न्वागी पर्वमा बिदा दिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको नेपालमा सीमान्तकृत चेपाङ समुदायको प्रकृतिपूजक पर्वलाई सम्मानपूर्वक मनाउन बिदा दिने निर्णय गरिएको हो।
अध्यक्ष मल्लले न्वागी पर्वले आपसी सद्भाव, मेलमिलाप र एकता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो। राक्सिराङ गाउँपालिकाले चेपाङ संस्कृति संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्