तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध कर्णाली राजमार्ग ४ दिनपछि खुल्यो

जुम्ला । अविरल वर्षापछि आएको भीषण ढुङ्गा सहितको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । 

अविरल वर्षापछि कर्णाली राजमार्गको गगने खोलामा आएको पहिरोले भदौ १४ गते बिहान ९ बजेदेखि अवरुद्ध भएको राजमार्ग आज दिउँसो १२ः४० बजेदेखि सञ्चालनमा आएको हो । 

अवरुद्ध भएको चार दिनपछि सडक सुचारु भएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत नेपालगन्ज तर्फ गएका छन् । चार दिनदेखी सडक अवरुद्ध भएपछि २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए ।

झण्डै १३ करोड बढीको १८४ मेट्रिकटन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिँदा स्याउ कुहिने चिन्ता बढेको छ ।

कर्णाली राजमार्गको गगने खोलामा भदौ १४ गते बिहान ढुङ्गा सहितको भीषण पहिरो आएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । ब्रेकर लगाएर ढुङ्गा फोड्ने प्रयास गरेपनि सम्भव नभएपछि ब्लाष्ट गरिएको थियो ।

मङ्गलवार नेपाली सेनाले चार पटक सम्म ब्लाष्ट गर्दा समेत ढुङ्गा नफुटेको र वर्षात जारी रहेकाले लेदो पहिरो आउने सक्ने जोखिमलाई मध्यनजर गरी काम रोकिएको थियो । 

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन तथा नेपाली सेनाको सहयोगमा सडकका सबै जनशक्ति परिचालन गरेर सडक सञ्चालनमा आएको बताउनुभयो । हर सम्भव प्रयास गर्दा पनि मौसम प्रतिकुलता,भौगोलिक कठिनाइ, स्रोत साधनको अभाव लगायतका कारणले सडक चाँडो खुलाउन नसकिएको उहाँको भनाई छ । 

चार दिन देखी सडकमै अलपत्र परेका स्याउका गाडी गन्तव्य तर्फ गएपछि व्यापारी खुसी भएका छन् । स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अवरुद्ध हुने समस्या रहेकाले यसको दीर्घकालीन समाधान तथा ढुवानीमा सहुलियत दिनु पर्ने किसान तथा व्यापारीले माग राख्दै आएका छन् । 

वर्षात अझै जारी रहेको र कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको हुँदा अत्यावश्यक काममा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न समेत सडक डिभिजन जुम्लाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button