अर्थमन्त्री पौडेल र विश्व बैङ्कका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट
'नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैङ्कको प्रतिबद्धता'
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताउनुभयो ।

उहाँले विश्व बैङ्कले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसिप फ्रेम वर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेम वर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैङ्कसँग मिलेर काम गर्न चाहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताउनुभयो । उहाँले विधेयकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैङ्कबाट सहयोगको अपेक्षा गर्नुभयो ।
विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैङ्कले सहयोग गर्ने बताउनुभयो । उहाँले विश्व बैङ्कले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताउनुभयो । उहाँले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्