‘सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तह सक्षम बन्नै पर्छ’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहलाई सक्षम बनाइनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको ‘प्रशिक्षण परिषद्’ को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ तथा प्रदेशबाट आएका विकास कार्य कार्यान्वयन गर्ने क्षेत्र स्थानीय तह भएकाले पालिका सरकारलाई जिम्मेवार र सक्षम बनाइनुपर्नेमा जोड दिनुभयो ।
सङ्घ र प्रदेशले नीति तथा योजना बनाए पनि कार्यान्वयन गर्ने पाटो मुख्यतः स्थानीय पालिकाको भएको बताउँदै उहाँले सङ्घ प्रदेश र स्थानीय तह बिचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो त्यति नै सहज जनाउनुभयो ।
प्रदेश सरकारले सुरु गरेको ‘योजना बैङ्क’ लाई स्थानीय तहले अनुसरण गर्न आग्रह गर्दै उहाँले विगतको अनुभवबाट पाठ सिक्दै, तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले समस्या देखाउने मात्र नभई समाधानका उपाय पनि खोज्ने प्रवृत्तिको विकास गर्न आग्रह गर्नुभयो ।
सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य भएको समेत उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्