तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका विभिन्न स्थान डुबानमा, प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलानालाहरूमा पानीको बहाव बढेसँगै केही स्थान डुबानमा परेका छन् ।

दोधाराचाँदनी भएर बग्ने जोगबुढा नदीमा पानीको सतह बढेपछि दोधाराचाँदनी नगरपालिका वडा नम्बर ८ रामपुरे टापु र जर्गा टोलका करिब २५ घरपरिवारका ७० जना स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उद्धारका लागि बाबाथान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक देवसिंह बुडालको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरको कमाण्डमा १२ जना प्रहरी खटिएका छन् ।

थप अपडेट अनुसार, आज बिहान १०ः३० बजे दोधाराचाँदनी वडा नम्बर ३ पटराखल्ला टोलमा पनि जोगबुढा नदीको पानी पस्दा १५ घरपरिवारका ५५ जना स्थानीय बासिन्दालाई चौपाया तथा सामानसहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको प्रहरीले जनाएको छ ।

यसअघि, भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेला क्षेत्र पनि डुबानमा परेको थियो । सेन्सोरियल स्कुल डुबानमा परेपछि वरपरका घरमा पानी पसेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक सुरेन्द्र चन्दको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर प्रभावित घरपरिवारलाई सहयोग गरेको हो ।

लगातारको वर्षाले महाकाली र जोगबुढा नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान ११ बजे महाकाली नदीमा १ लाख ४० हजार २५० क्युसेक पानीको बहाव पुगेपछि नेपाल–भारत सीमास्थित बनबासा पुल हुँदै हुने तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button