वीरगंजमा हैजा र झाडापखालाका बिरामी घट्दै
'स्थानीय बासिन्दालाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह'
वीरगंज। वीरगंज महानगरपालिकामा हैजा र झाडापखालाका कारण अस्पताल भर्ना भएकामध्ये ७ सय ४६ जना बिरामी पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका छन् ।

घर फर्किएकामध्ये १३२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।
महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, हालसम्म १७२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये आइतबार मात्रै १५ जनामा नयाँ सङ्क्रमण देखिएको छ । यद्यपि, पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । शनिवार १४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, झाडापखाला लागेर अस्पताल भर्ना हुनेको सङ्ख्या पनि कम भएको छ । आइतबार ५८ जना भर्ना भएका छन्, जुन शनिवारको ८८ र शुक्रवारको ७५ को तुलनामा कम हो । हाल विभिन्न अस्पतालमा ६८ जना बिरामी उपचाररत छन्, जसमध्ये ४० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा ३६, नेश्नल मेडिकल कलेजमा १०, तराई अस्पतालमा ७, सर्वोत्तम हस्पिटलमा ४, भवानी हस्पिटल र वीरगंज हेल्थ केयरमा ३-३, प्रभु हस्पिटलमा २, तथा एडभान्स, वीरगंज मेट्रोसिटी र कृष्णा हस्पिटलमा १-१ जना भर्ना छन् । उपचाररतमध्ये १५ जनालाई आइसियुमा राखिएको छ ।
स्वास्थ्य शाखाले दूषित पानी र खाद्य पदार्थलाई हैजा र झाडापखालाको प्रमुख कारण मानेको छ । घना बस्ती, खुला पानीका स्रोत र अपर्याप्त सरसफाइले जोखिम बढाएको छ । सङ्क्रमण नियन्त्रणका लागि महानगरले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन, जनचेतना अभियान, खानेपानीको क्लोरिनेसन र ट्याङ्की सरसफाइलाई तीव्रता दिएको छ । पानी पुरी, चाट, भाजालगायत स्ट्रिट फुडमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने शैक्षिक संस्थाहरू मङ्गलवारसम्म बन्द गरिएको छ ।
स्वास्थ्य विशेषज्ञहरूले सङ्क्रमण घट्नु सकारात्मक भए पनि दीर्घकालीन नियन्त्रणका लागि स्वच्छता र पूर्वाधार सुधार आवश्यक रहेको बताएका छन् । महानगरले स्थानीय वासीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमण पूर्ण नियन्त्रणका लागि समुदायको सहभागिता बढाउन अपिल गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्