‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्व सन्ध्यामा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री खड्काले मुलुक सङ्घीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई कसरी सशक्त र सबलीकरण गर्न सकिन्छ भनेर चासो र चिन्ता लिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो ।
ऊर्जा मन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारद्वारा निर्मित कानुनबिच तालमेल हुनु जरुरी रहेको बताउनुभयो । उहाँले जलविद्युत् निर्माणका क्रममा वन र जग्गा प्राप्ति समस्याका रूपमा रहेको भन्दै यसलाई समाधान गर्न तीनै तहका सरकारबिच समन्वय हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री खड्काले विकास निर्माणका क्रममा देखिने समस्यालाई कानुनी विधिअनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भएका स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्न चाहेको उहाँको भनाइ छ ।
ऊर्जा मन्त्री खड्काले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् खरिदबिक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । सरकारले नीतिगत सुधार गर्दै प्रभावकारी काम गरिरहेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै उक्त सम्मेलनमा जोडिन सबैलाई आग्रह गर्नुभयो । उहाँले लगानी सम्मेलनलाई सफल पार्न केन्द्र सरकारको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा कमल पोखरेलले सुदूरपश्चिम सबै क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रदेश भएकाले उक्त स्रोतको समुचित प्रयोग गरी समृद्ध मुलुक बनाउनका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
धनगढीको सिटी हलमा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण, लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता गरिने कार्यक्रम छ । सुदूरपश्चिम प्रदेशमा हाल आठ हजार २४१ मेगावाटका १०८ जलविद्युत् आयोजना कुनै न कुनै रूपले अगाडि बढिरहेका विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले जानकारी दिनुभयो ।
छलफलमा सुदूरपश्चिम प्रदेशमा ऊर्जा क्षेत्रको विकास गरिरहेका कम्पनीहरूले ऊर्जा क्षेत्रको विकासमा भोग्नुपरेका प्रसारण लाइन, जग्गा प्राप्ति, वनलगायत समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्