तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ स्वरूपमा ‘माइतीघर’

काठमाडौँ । मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिनुभएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ । 

नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहने गरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताउनुभयो । उहाँले निर्माण गर्नुभएको ‘माइतीघर’ चलचित्रमा पुरानै गीतलाई नयाँ स्वरूपमा तयार गर्नुभएको हो । 

गीतमा सञ्जीवनीले स्वर दिनुभएको जनाउँदै अधिकारीले स्वर्गीय जयदेवले सिर्जना गर्नुभएको सङ्गीत र किरण खरेलले रचना गर्नुभएको शब्दअनुसार नयाँ स्वरूपमा तयार गरिएको बताउनुभयो । उहाँका अनुसार पुरानो गीतलाई स्वरमात्र नयाँ दिएर तयार गरिएको हो । 

उहाँले भन्नुभयो, “पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि कालजयी उक्त गीतलाई नयाँ स्वरूपमा ल्याउने तयारी गरेर अहिले सार्वजनिक गरेका छौँ । पुरानो गीतको मर्मलाई कायम राख्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले चलचित्रमा समावेश गरेका हौँ । गीतले चलचित्रको कथालाई अगाडि बढाउँछ ।”

निर्माता अधिकारीले उक्त गीतमा श्रव्यदृश्य (भिडिओ) बनाउनेमध्येबाट उत्कृष्टलाई रु पाँच लाख पुरस्कार राशि प्रदान गरिने जानकारी दिनुभयो । यसका लागि प्रतियोगिता घोषणा गरिएको उहाँले बताउनुभयो । 

“गीतको श्रव्यदृश्यमा राम्रो नृत्य गरेर हामीलाई पठाउनेमध्ये एक जनाले चलचित्र सार्वजनिक रूपमा प्रदर्शन हुनु अगाडि प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार पाउनुहुनेछ । प्रतियोगितामा सहभागी हुन ४० सेकेन्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य तयार गरेर हामीलाई पठाउनुपर्नेछ । यसले गीतलाई नयाँ पुस्तामा पुर्‍याउनुका साथै चलचित्रको प्रचारप्रसारमा मद्दत गर्नेछ”, निर्माता अधिकारीले भन्नुभयो । 

उक्त गीतमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कविराज गहतराजले नृत्य निर्देशन, मानकृष्ण महर्जन र सुशन प्रजापतिले संयुक्त रूपमा छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन गर्नुभएको छ । 

मिलन तामाङको निर्देशनमा तयार भएको उक्त चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापालगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र दसैँको अवसर पारेर फूलपाती ९असोज १३ गते०देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button