काङ्ग्रेसभित्र हार्दिकता आवश्यक छ: उपसभापति गुरुङ
नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हार्दिकता आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा बाँकेले आजदेखि जानकी-३ मा आयोजना गरेको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले पार्टीलाई गन्तव्यमा पुर्याउन नेता कार्यकर्ताबिच हार्दिकता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीमा बढ्दो मनमुटाबलाई लक्षित गर्दै सहकार्यमा जोड दिनुभयो । गुरुङले पार्टीभित्र सहकार्य कमजोर हुँदा निर्वाचनहरूमा असर पुग्ने भन्दै एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा बाँके प्रमुख एवम् पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रशिक्षण शाखा सचिव उमा थापा मगरले गर्नुभएको थियो । उद्घाटन सत्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठ लगायतको उपस्थिति थियो ।
प्रशिक्षण कार्यक्रममा ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारी प्रशिक्षण’, ‘लोकतान्त्रिक समाजवाद: नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा’, ‘नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र सङ्गठन विस्तारको रणनीति’, ‘युवा रोजगारी र उद्यमशीलता’, ‘सङ्गठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ र ‘नेपालको संविधान: संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’ लगागतका समसामयिक विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइनेछ ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठ, प्रतिष्ठानका निर्देशक डा.कृष्णप्रसाद पौडेल, सदस्य विश्वदिप लामिछाने, प्रशिक्षक नवीन श्रेष्ठ, निर्देशक डा. सञ्जय महतो र योजनाविद् डा. जगदिशचन्द्र पोखरेल, तीर्थ पौडेल लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रतिक्रिया राख्नुहोस्