तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

दाङ।लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

मुख्यमन्त्री आचार्यले पुनको निधनले प्रदेश मात्र नभई समग्र नेपाली समाज नै दुःखी बनेको बताउनुभयो। उहाँका अनुसार पुनले समाज परिवर्तन, सुशासन र जनताको आकांक्षा सम्बोधनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

श्रद्धाञ्जली वक्तव्यमा मुख्यमन्त्री आचार्यले पुनलाई दूरदर्शी, इमानदार, अनुशासित र निष्ठावान जनप्रतिनिधि उल्लेख गर्दै उहाँको असामयिक निधनलाई लुम्बिनी प्रदेशका लागि अपूरणीय क्षति भन्नुभएको छ।

‘उहाँ दुर्गमका जनताको दुःख–पीडा र अपेक्षालाई निरन्तर आवाज दिँदै आउनुभएको थियो। उहाँको सरल जीवनशैली र जनमुखी सोच सबैका लागि प्रेरणाको स्रोत हुनेछ,’ वक्तव्यमा भनिएको छ।

पुनले केही दिनअघि दुई वटा ठूलो शल्यक्रिया गर्नुभएको थियो। पहिलो अपरेशनमार्फत उहाँले छोरीलाई जन्म दिनुभयो भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button